पृष्ठभूमि

                               राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणमा युवावर्गको भूमिका महत्वपूर्ण रहेको हुन्छ । साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवम् उच्च आत्मविश्वासका कारण यो वर्गलाई राष्ट्र  निर्माणको प्रमुख स्रोत समेत मानिएको छ । नेपालमा १६ देखि ४० वर्ष उमेर समूहको जनसङ्ख्या कुल जनसङ्ख्याको ४०.३ प्रतिशत रहेको छ । शिक्षित, सीपयुक्त, अनुशासित र उद्यमशील युवाशक्ति विकास गरी यो जनसाङ्ख्यिक प्रवृत्तिलाई पुँजीकृत गर्दै राष्ट्र निर्माणमा लगाउन सकिएमा युवाहरूले देशको सामाजिक एवम् आर्थिक विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्दछन् । यसलाई मध्यनजर गरी राष्ट्रिय युवा नीति, २०७२ एवम् राष्ट्रिय युवा परिषद्को गठन गरिएको छ । राष्ट्रिय युवा नीति, २०७२ को प्रभावकारी कार्यान्वयन गर्दै युवाशक्तिले विकासका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभवहरूबाट सिकेका पाठहरूलाईसमेत मनन गर्दै उनीहरूलाई देशको सामाजिक आर्थिक रूपान्तरणमा मूलप्रवाहीकरण गर्नुपर्ने भएको छ ।

                                    स्वस्थ तथा अनुशासित नागरिक र समाजको सृजना गर्न खेलकुदलाई प्रमुख आधारको रूपमा लिइन्छ । राष्ट्रको प्रतिष्ठा वृद्धि गर्ने र विभिन्न सम्प्रदाय, भाषा तथा संस्कृति एवम् समुदायबीच एकता कायम गरी राष्ट्रिय विकासको अभियानमा एकजुट बनाउन खेलकुदको योगदान महत्वपूर्ण रहेको हुन्छ । नेपालको खेलकुद क्षेत्रलाई विश्वव्यापी मूल्य र मान्यताअनुसार साङ्गठनिक ढाँचामा समयसापेक्ष सुधार गर्ने तथा सरकारी, गैरसरकारी एवम् निजी क्षेत्रबीच समन्वय, सहकार्य एवम् साझेदारीको वातावरण सिर्जना गरी खेलकुदको विकास र विस्तार गर्दै यसलाई जनजीवनको अभिन्न अङ्ग बनाउने प्रयास गरिएको छ । खेलकुदको माध्यमबाट शारीरिक, मानसिक, बौद्धिक, संवेगात्मक र नैतिकवान् मानव संशाधनको विकास गरी अनुशासित र मर्यादित समाज निर्माण गर्दै खेलकुदलाई रोजगारमूलक व्यवसायको रूपमा समेत स्थापित गर्न स्थानीय तहदेखि नै कार्यक्रम सञ्चालन गरी ‘सबैको लागि खेलकुद’ भन्ने अभियानलाई साकार पार्न खेलकुदसँग सम्बन्धित पूर्वाधार निर्माण, प्रशिक्षण, प्रतियोगिता र प्रोत्साहनका कार्यक्रमहरू कार्यान्वयन गर्न आवश्यक छ ।