मिति २०७९ असार २४ र २५ गते माननीय युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक)ज्यूको समुपस्थितिमा मन्त्रालयका श्रीमान् सचिव डा.दामोदर रेग्मीज्यूको अध्यक्षतामा युवा तथा खेलकुद सम्बन्धी गतिविधिहरुको तहगत सरकारका बीचमा समन्वय र सहजीकरण विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो ।
कार्यक्रमका प्रमुख अतिथि माननीय युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक)ज्यूले तहगत सरकारका बीचमा रहेका युवा तथा खेलकुद सम्बन्धी गतिविधिहरुको एकीकृत तथ्यांक निर्माणमा मन्त्रालय सकृय भर्इ कार्यक्रममा हुने दोहोरोपना हटाउनु पर्ने कुरामा जोड दिनुभयो । साथै उहाँले नेपाल स्काउट परिचालन र सहुलियतपूर्ण ऋण प्रवाह र सीपमूलक जनशक्ति उत्पादनमा मन्त्रालय मातहतका निकायहरु लागिपर्नुपर्ने धारणा सहित अन्य भावी योजनाको विषयमा आफ्नो मन्तव्य दिनुभयो ।
कार्यक्रमका अध्यक्ष एवं युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीज्यूले कार्यक्रममा प्राप्त सल्लाह सुझावहरुलार्इ समेटेर मन्त्रालयले भावी योजनाहरुमा प्रतिविम्वित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै उहाँले कार्यक्रमबाट प्राप्त उर्जालार्इ मन्त्रालय र मातहतका निकायहरुको दैनिक सेवा प्रवाहसँग सम्बन्धित गतिविधिहरुमा प्रयोग गरेर सेवा प्रवाहमा थप निखारता ल्याउन कर्मचारी साथीहरुलार्इ अनुरोध गर्नुभयो ।
युवा तथा खेलकुद मन्त्रालयका महाशाखा प्रमुख सहसचिव श्री विदुर प्रसाद खनालज्यूले कार्यक्रममा उपस्थित महानुभाहरुलार्इ स्वागत, कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुका साथै मन्त्रालयका गतिविधिहरु र अन्तरतह सरकारका बीचमा हुनुपर्ने समन्वय र सहजीकरण समेटिएको प्रस्तुती प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा उपस्थित विशेष अतिथि राष्ट्रिय योजना आयोगका माननीय उमाशंकर प्रसादले कार्यक्रम सफलताको शुभकामना सहित युवा लक्षित योजनाहरुको विषयमा आफ्नो मन्तव्य प्रस्तुत गर्नुभयो । मन्त्रालय अन्तरगतका निकायहरु युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी, राष्ट्रिय युवा परिषदका प्रशासकीय प्रमुख रमाकान्त शर्मा र नेपाल स्काउटका सहायक निर्देशक प्रदिप बगालेज्यूहरुले आफ्नो कार्यालयको प्रगति सहित आगामी दिनमा गर्न सकिने युवासँग सम्बन्धित गतिबिधिहरुको विषयमा आफ्नो भनार्इ राख्नुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश, शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयका शाखा अधिकृत श्री प्रकाश पाण्डे, युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशका सचिव श्री ध्रुब गैंडा, सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशका युवा महाशाखा प्रमुख श्री जवाहरलाल हमालले आफ्नो प्रदेशसँग सम्बन्धित गतिविधिहरु समेटिएको प्रस्तुती प्रस्तुत गर्नुभयो । साथै उहाँहरुले कार्यक्रममा विनियोजित बजेट, कार्यक्रम कार्यान्वयनमा आइपरेका चुनौती र अवसरहरु सहित भविष्यमा हुनुपर्ने समन्वय र सहजीकरणको विषयमा समेत आ-आफ्नो प्रस्तुती मार्फत प्रष्ट पार्नुभयो ।
युवा परिचालन तथा परामर्श शाखाका शाखा प्रमुख उपसचिव श्री यमेन्द्र उपाध्यायले संचालन गर्नुभएको कार्यक्रममा लुम्विनी प्रदेश सदस्य माननीय पार्वती पुनको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा मन्त्रालयका विभिन्न शाखाका प्रमुखज्यूहरु, महालेखा परीक्षकको कार्यालयका निर्देशकद्वय श्री कृष्ण प्रसाद खनाल र श्री रचना प्रधान र मन्त्रालयका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।